२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

भुपी गायिका बन्ने सपनाले काठमाडौं आइन्, स्ववियु अध्यक्ष जितिन्

काठमाडौं । छात्राहरूको मात्रै पठनपाठन हुने पद्मकन्या क्याम्पस देशकै चर्चितमध्ये एक शैक्षिक थलो हो । यो चर्चित शैक्षिक थलो यस पटकको स्वतन्त्र विद्यार्थी युनियनको चुनावबाट झन् चर्चामा आएको छ । यहाँ स्वतन्त्र उम्मेदवार भुवनेश्वरी ऐर (भूपी) सहित स्वतन्त्र प्यानलले ठूला दललाई पछारेको छ ।

प्रमुख दलका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र अनेरास्ववियुलाई पाखा लगाउँदै अध्यक्षसहित पदाधिकारी र सबै सदस्य पदमा भूपीको प्यानलले बाजी मारेको छ । पहिलो पटक पद्मकन्यामा स्वतन्त्र उम्मेदवारले जित्दा दलीय सिन्डिकेट पनि तोडिएको छ । ऐर ७३० मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेविसंघकी पूर्णमाया परियारले ३७९ मत पाइन् ।

सचिवमा सन्ध्या बस्याल ६ सय ९५ मतसहित विजयी भइन् । कोषाध्यक्ष संकल्पिका थापाले ६ सय ६६ मत ल्याइन् । सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल विजयी भए । यहाँ अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरे पनि तेस्रोमा समेटिए । विवादका कारण यहाँ चैत ७ गते मात्रै निर्वाचन भएको थियो ।

बैतडीको पाटन नगरपालिका–२ लजकुडामा ०५८ असारमा जन्मिएकी भुवनेश्वरी ऐर (भूपी) ले विद्यालय शिक्षा गाउँमै लिइन् । ०७६ सालमा काठमाडौं आएकी उनको सपना वकिल र गायिका बन्ने थियो । तर, पद्मकन्या कलेजमा व्यवस्थापन विषय पढ्न आफन्तले सुझाएपछि उनको बाटो मोडियो । डोटेली भाषामा पोख्त भूपिलाई काठमाडौंमा पसेपछि नेपाली बोल्न नजानेको भन्दै साथीले नै जिस्क्याउँथे ।

उनलाई सुरुमा काठमाडौंका मान्छेको व्यवहार पनि अप्ठ्यारो लाग्थ्यो । सुरुमा संकोच मानेकी उनी हुँदै विस्तारै घुलमिल भइन् । बुवा शिक्षित परिवारका भएकाले उनलाई काठमाडौं आउन समस्या थिएन । तर, आर्थिक अभाव थियो । उनी घरकी कान्छी छोरी हुन् । गाउँमा बुवाको मेडिकल छ ।

भलिबलकी क्षेत्रीय खेलाडी भूपी विद्यार्थीमाझ लोकप्रिय छन् । उनी कलेज आएपछि नेविसंघमा जोडिइन् । उनलाई नेविसंघले ०७९ मा टिकट दियो । १४ वर्षपछि निर्वाचनमा उनी सचिव पदमा निर्वाचित भइन् । ऐरले व्यवस्थापनमा ब्याचलर सकेकी छन् । उनी कलेजका अरु १८० जना विद्यार्थीसँगै होस्टल बसेर पढ्छिन् ।

गायिका बन्ने सपना बोकेर काठमाडौं आएकी थिइन् भुपी

पद्मकन्याको स्ववियु अध्यक्षमा निर्वाचित भएकी भुपी गायिका र वकिल बन्ने सपना बोकेर काठमाडौं आएकी थिइन् । बैतडी पाटन नगरपालिका–२ सिलङ्गा, जलकुडाकीमा जन्मिएकी भुपेश्वरी ‘जलकुडाकी भुपी’ नामले पनि चर्चित छिन् ।

साहित्यमा झुकाव भएकी भुपेश्वरीको साहित्यिक नाम भुपी हो । १२ कक्षासम्म बैतडीमै अध्ययन गरेकी भुपी उच्च शिक्षा पढ्न २०७६ मा काठमाडौं छिरेकी थिइन् ।

‘पढ्दै गायिका र वकिल बन्छु भनेर काठमाडौं आएकी हुँ । पद्मकन्या छिरेपछि जीवनले यस्तो मोड लियो,’ उनी भन्छिन् ।

स्नातक तहको अध्ययन हालसालै सकाएकी भुपी स्नातकोत्तरको अध्ययन गर्ने तयारीमा पनि छिन् ।

पद्मकन्या छिरेपछि उनी अतिरिक्त गतिविधिमा सक्रिय हुन थालिन् । ‘गायन, वक्तृत्वकला, भलिबल हरेक क्रियाकलापमा सक्रिय भएर लागेँ,’ उनी भन्छिन् ।

काठमाडौं आएको केही समयसम्म उनलाई नेपाली भाषा बुझ्न समेत कठिन हुन्थ्यो । ‘काठमाडौंमा अनौठो मान्छे, अनौठो अनुभव भाषा बुझ्न पनि समय लाग्यो । संघर्ष गर्दै गएँ । हरेक गतिविधिमा संल्गन भएपछि त्यहाबाट यहाँ आएर गर्न सकिने रहेछ भन्ने हिम्मत आयो,’ उनी भन्छिन्, ‘नेपाली राम्रोसँग बोलेको नबुझ्ने अवस्था थियो । बैतडीकै भाषा र लवज आउँथ्यो ।’

‘गीत गाएर स्टेजमा पर्फमेन्स देखाउँछु भनेर बैतडीबाट काठमाडौं आएकी थिएँ । स्ववियु अध्यक्ष भएँ । अब विद्यार्थीको सेवामा समर्पित हुनेछु,’ भुपीले भनिन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।