काठमाडौं । आज मार्च २४ तारिख। हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ। क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ।

दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ। यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन्। विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ।
केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले विज्ञप्ति सार्वजनिक गर्दै क्षयरोग विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख गरेका छन्। सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो। त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ। जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो।









