काठमाडौं । जिल्ला अदालत काठमाडौंले तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेका ४१ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुनसक्ने आरोपमा पक्राउ परेकाहरुलाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको हो । अनुमतिको अवधि पक्राउ परेको दिनदेखि नै गणना हुनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालयले १० दिन थुनमा राख्न अनुमति मागेकोमा धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो भने रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो । अदालतमा गोला छनौटका क्रममा आइतबार न्यायाधीश तारादेवी महर्जनलाई थुनाको अनुमतिसम्बन्धी निवेदन हेर्ने जिम्मेवारी तोकिएको थियो ।
सामान्यतयाः प्रहरीले थुनामा रहेका व्यक्तिलाई इजलासमा पेस गरेपछि फाइल हेरेर थुनाको अनुमति दिने अभ्यास छ । तर आइतबार जबरा र मिश्रलाई अदालतमा पेस गरेपछि उनीहरूका कानुन व्यवसायीहरूले झुटो र राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाउन खोजिएको भन्दै थुनामा राख्न अनुमति दिन नहुने जिकिर गरेका थिए ।
जिल्ला अदालतले रविन्द्र र जबरालगायत ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा थुनामा राख्ने अनुमति दिएको हो । त्यसक्रममा प्रहरीले उनीहरूमाथि संगठित अपराध गरेको आरोपमा समेत अनुसन्धान गर्ने भनी फाइल पेस गरेको छ ।
ती बाहेक थप ३१ जनालाई संगठीत रुपमा आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।









