२०८२ कार्तिक २८ बिहीबार
२०८२ कार्तिक २८ बिहीबार

‘रैयाँ चाँदीको’ गीतका सर्जकलाई गजल चोरीको आरोप

काठमाडौं । यस वर्षको ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’को चर्चित गीत ‘रैया चाँदीको’ का गीतकार नवराज पन्तलाई गजल चोरीको आरोप लागेको छ । गणेश भट्टको गजल चोरी गरेर आफ्नो बनाएको आरोप पन्तलाई लागेको हो ।

अघिल्लो शनिवार थापागाउँस्थित मण्डला थिएटरमा एक गजल कार्यक्रम भएको थियो । विम्ब उत्सव नाम दिइएको उक्त कार्यक्रममा आठ जना गजलकारका ८ गजलहरू गायक तथा संगीकार राज सिग्देलले गाएका थिए ।

तर, सिग्देलले जब पन्तको गजल ‘तिम्रो बिहेको बखत’ गाउन थाले, विवाद सिर्जना भयो । पन्तको यस गजलको तीन वटा शेर गणेश भट्टको गजलसँग हुबहु मिलेको भन्दै कार्यक्रम हल बाहिर हंगामा मच्चियो । जसोतसो कार्यक्रम त सकियो, तर पन्तले भट्टको गजल चोरी गरेको कुरा चलेका गजलकारहरूले नै दाबी गर्न थाले ।

८ वर्षअघि सार्वजनिक भएको संयुक्त गजलसंग्रह ‘कैफियत-२’ मै भट्टको उक्त गजल छापिएको रहेछ । आफ्नो गजल यसरी खुलेआम चोरी भएको पाएपछि भट्टले एक स्टाटस लेख्दै आफूले पन्तलाई सम्पर्क गरेर बुझ्न खोज्दा ‘आफ्नो हो’ भनेर जिद्दी मात्रै गरिरहेको दुखेसो पोखेका छन् ।

पेशाले लेक्चरर रहेका भट्टले लेखेका छन्, ‘रचनाको अपनत्व लिने सम्बन्धमा सहमतिमा नआएमा वा सार्वजनिक रूपमा माफी नमागेमा सो कार्यमा संलग्न व्यक्तिहरू तथा कार्यक्रम आयोजकविरुद्ध प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम कानुनी उपचारमा जान बाध्य हुनेछु ।’

कार्यक्रम आयोजकको तर्फबाट यस विषयमा संगीता थापाले लामो स्टाटस लेख्दै आफू भुलभुलैयामा परेको बताएकी छन् । उनले लेखेकी छन्, गणेश भट्ट भाइ, हामी आयोजक तपाईँको पक्षमा छौँ । नवराज पन्त भाइ, तेरो आत्मालोचनासहितको स्वीकारोक्ति र क्षमाको मागको प्रतीक्षामा छौँ ।’

साथै भट्टको आत्मसम्मान र भावनामाथि ठेस पुर्‍याउने कार्य भएकोले थापाले माफी समेत मागेकी छन् ।

पन्तले भने आफूले १५ वर्षअघि नै उक्त गजल लेखेको दाबी गरेका छन् । अमेरिकामा बस्दै आएका पन्त ‘रैयाँ चाँदीको’ साथै ‘सालको पात टपरी हुने’, ‘मायालुको सहरमा, मेरो गाउँमा घर छ’, ‘डाँडै फुर्के सल्लो’ जस्ता चर्चित गीतहरूका सर्जक हुन् । नवराज पन्तलाई हुबहु कपी गरेको आरोप लागेको गजल यस्तो छ,-

तिम्रो बिहेको बखत, के माग्छौ मसँग ?
मेरो हैन यो जगत्, के माग्छौ मसँग ?

तिमीलाई त रातो असाध्यै मन पर्छ
गुलाब या रगत, के माग्छौ मसँग ?

एउटा आँखा हराए अर्कोले खोज्ने छ
माग्न परे मद्दत, के माग्छौ मसँग ?

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।