काठमाडौं । तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् आज काठमाडौं ल्याइएको हो ।

प्रसाइँलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर प्रसाइँलाई चन्द्रगढी विमानस्थल हुँदै बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रसाइँलाई विमानस्थलसम्म पु-याउँदा हतकडी लगाइएको थियो ।
विमानमा चढाइसकेपछि उनको हतकडी खोलिएपनि काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको छ । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए ।
उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । तर, प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको दाबी गरेको छ ।
प्रहरी प्रसाइँसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिएको छ । दुवैजनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको प्रहरीले दावी गरेको छ । प्रसाईं र खड्कालाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ ।









