काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्दै वैशाख २ गतेभित्र उनीहरूलाई घर फर्काउने तयारी गरेको छ । विद्यालय शिक्षा ऐनको मागसहित चैत २० देखि काठमाडौँमा आन्दोलनमा उत्रिएका शिक्षकहरूको चासो सम्बोधन गर्न मन्त्रालय गम्भीर बनेको छ ।

शिक्षामन्त्री सुनिशा भट्टराई नेतृत्वमा शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच निरन्तर छलफल भइरहेको छ । पहिलो दिन महासङ्घले २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । मन्त्रालयले तीमध्ये धेरैजसो माग सम्बोधन गर्न गृहकार्य अघि बढाएको छ ।
प्रारम्भिक बाल विकास शिक्षकको विषय, शिक्षक अस्पताल स्थापना, सञ्चित बिदा, राहत तथा ग्रेड मिलाउने विषयहरू आगामी बजेटमा समेटिने गरी तयारी भइरहेको जनाइएको छ । साथै, शिक्षकहरूका अन्य सेवा सुविधा निजामती कर्मचारीसरह हुने व्यवस्था गर्न पनि पहल भइरहेको छ ।
सहमति भएमा वैशाख २ गतेभित्र शिक्षकहरू घर फर्किने तयारीमा मन्त्रालय जुटेको छ । संसद्को शिक्षा समितिले पनि विधेयकमाथि छलफल तीव्र पारेको छ, जसले सहमति प्रक्रियालाई थप सहज बनाएको छ ।









