काठमाडौं । कालीकोटको रासकोट नगरपालिकाको मोतिराम माविका शिक्षक उपेन्द्रप्रसाद सिंखडा गएको दुई हप्तादेखि अरू शिक्षकहरूसँगै काठमाडौं आएर आन्दोलन गरिरहनुभएको छ । आन्दोलनकै लागि काठमाडौमा बस्न सजिलो छैन । काठमाडौमै परिवारका सदस्य र आफन्त भएकाहरूका लागि त ठीकै छ । कोही पनि नभएकाहरू होटलमा बस्ने गरेका छन् । सिंखडाले अहिलेसम्म त आफैँसँग भएको केही पैसा खर्च गरेर आन्दोलनमा सहभागिता जनाउनुभयो । तर अब आन्दोलनका लागि काठमाडौंमा बस्न उहाँलाई समस्या हुन थालेको छ । ‘शिक्षकहरूको आन्दोलनका लागि काठमाण्डौ आएर सुन्धाराको एउटा होटलमा बसेकाे छु’, सिंखडा भन्नुहुन्छ, ‘जसोतसो बसिरहेका छु, दिनदिनै खर्च बढिरहेको छ ।’

आज १४औं दिनसम्म भोख तिर्खा नभनी शिक्षहरू आन्दोलनमा सहभागी भएका हुन् । बस्ने खानेको समस्या भए पनि कुनै हालतमा आन्दोलन सफल पार्नुपर्ने सोलुखुम्बुको सोताङ गाउँपालिकामा रहेको जनपञ्च आधारभूत विद्यालयका प्रधानाध्यापक हितबहादुर दाहाल बताउनुहुन्छ ।
‘होटलमा बसिरहेका छौँ, एक रातको सुतेको एक हजार रुपैयाँ तिर्नुपर्छ । त्यस्तै खाजा, खाना गर्दा खर्च उस्तै भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसरी आन्दोलन गर्न बाध्य पार्ने सरकारले कानमा तेल हालेर बसेको छ ।’
कैलालीबाट आन्दोलन गर्न आउनुभएका शिक्षक खडकमनि खड्काको भनाइ पनि यस्तै छ । शिक्षक महासङ्घको आह्वानमा आएको आन्दोलनमा माग पूरा नहुञ्जेल नफर्किने उहाँ बताउनुहुन्छ । ‘काठमाडौंमा बस्न र खाना खर्चिलो छ । त्यही पनि महासङ्घले आह्वान गरिसकेपछि आफ्नै लागि हो भनेर आएको छु’, खड्का भन्नुहुन्छ ।
नेपाल शिक्षक महासङ्घले दुई हप्तादेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेको छ । शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रसमेत प्रभावित भएको छ । तर आफूहरूको यो रहर नभई बाध्यता रहेको तेह्रथुमबाट आउनुभएकी शिक्षीका रेजीना फुकाई सुनाउनुहुन्छ ।
देशभर नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान शुरू भएको बेलासमेत शिक्षकहरू आन्दोलनमै रहँदा विद्यार्थी र अभिभावक अन्योलमा छन् । शिक्षकहरूलाई चित्त बुझाएर बेलैमा विद्यालय फर्काउने काम सरकारको हो । सरकारले यसबारे प्रयास भइरहेको दाबी गरे पनि समाधान निस्कन सकेको छैन ।









