काठमाडौँ । कबाड व्यवसायी समाज नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफूहरूलाई व्यवसाय गरेर गरीखान नदिएको आरोप लगाउँदै आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ।

काठमाडौँ महानगरपालिकाले १८ महिनादेखि गुण्डागर्दी शैलीमा कबाड व्यवसायीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको भन्दै उनीहरूले आफ्नो पेशागतसहित जिउधनको सुरक्षाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग हारगुहार गरेका छन्।
‘काठमाडौँ महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कबाड व्यवसायी, सङ्कलक मजदुरहरूमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कबाड व्यवसायका संरचनाहरू भत्काउने, सङ्कलक र मजदुरका साइकल र सामान जफत गरिरहेको छ,’ ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष रामकेवल गुप्ताले भने, ‘काठमाडौँ महानगर प्रहरीको कुटपिटका कारण कबाड व्यवसायी र सङ्कलकहरूको टाउको फुटेको र अङ्गभङ्ग भएको छ। खासगरी भन्ने हो भने काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरबाट गरिब जनता गरीखाने वर्गलाई हटाउन खोजेका छन्।’
कबाड व्यवसायी र सङ्कलकमाथि भइरहेको यो प्रकारको महानगरको गुण्डागर्दी र ज्यादती तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षा गरिदिन पनि उनीहरूले मन्त्री गुप्तासमक्ष अनुरोध गरेका छन्।
उनीहरूले कबाडी व्यवसायीहरू नेपालको प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौँ महानगरका विभिन्न वडाहरूमा कबाड व्यवसाय सञ्चालन गर्दै आएको, वर्षौंदेखि कबाड व्यवसाय गर्दै आएका कबाड व्यवसायीहरूले सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको, देशमा सञ्चालित उद्योगहरूलाई चाहिने कच्चा पदार्थ कबाड व्यवसायीले आपूर्ति गर्दै आएको, वातावरणीय सरसफाइमा योगदान रहँदै आएको र देशको व्यापार घाटा कम गर्न कबाड व्यवसायले भूमिका खेल्दै आएको जानकारी पनि मन्त्री गुप्तालाई गराएका छन्।
अध्यक्ष गुप्ताका अनुसार हाल यो व्यवसायमा करिब १ लाख मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्।









